एमाले आज

नेपालको इतिहासकै कालो अध्याय 

सेयर गर्नुहोस्

२०८२ भदौ २४ – राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि भएको सर्वाधिक ठुलो आक्रमण र विध्वंशको त्रासदीपूर्ण दिन, नेपालको इतिहासकै कालो अध्याय भएको नेकपा (एमाले)को धारणा छ ।   
अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस वक्तव्य जारी गर्नुभई भदौ २४ को त्रासदी राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील ‘कोर्स’लाई उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रुप भएको भनी स्मरण गर्नुभएको छ । 
भदौ २४ को विध्वंशका आरोपीहरुलाई जुन ढङ्गले उन्मुक्ति दिने र उनीहरु विरुद्ध सुरु भएका अनुसन्धान एवं अभियोजनका प्रक्रियालाई जसरी रोक्ने काम भएको छ, यसले राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको एमालेको निष्कर्ष छ । 
गतवर्ष जसरी प्रदर्शनका नाममा अराजकतालाई ‘जायज’ र परिवर्तनका नाममा हिंसालाई ‘बैध’ बनाउने काम भयो, यसले नेपाली जनताले स्थापित गरेको लोकतान्त्रिक दृष्टान्तलाई खण्डित गर्ने र दूरगामी रुपमा अत्यन्त हानिकारक नजिर बसाल्ने जोखिम पैदा गरेको छ ।  
नेपाल राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित रहेको भन्दै अध्यक्ष ओलीले उक्त दिनको स्मरण गर्नुभएको छ । 
राजनीतिको अपराधीकरण नरोकिने हो भने, राज्य दहन गर्नेहरुले उन्मुक्ति पाइरहने हो भने, दण्डहीनता अन्त्य नहुने हो भने र जनअसन्तुष्टिका नाममा अराजकता एवं हिंसालाई बैध, स्वाभाविक र नियमित प्रक्रिया बनाइरहने हो भने देशले बारम्बार यस्तो पीडा भोग्नुपर्ने छ । त्यसैले हामीले हिंसालाई ‘नाइँ’ भन्नैपर्छ । ‘अराजकता अन्त्य गर’ भनेर बोल्नैपर्छ । दण्डहीनताको अन्त्य र राज्य दहनका अपराधीहरुलाई दण्डित गर्नैपर्छ । लोकतन्त्रमा जुनसुकै समस्याको पनि शान्तिपूर्ण समाधान छ भन्ने सत्य स्थापित गर्नैपर्छ । र, सरकार परिवर्तनका लागि संवैधानिक बाटो बाहेक अन्य विकल्प मञ्जुर छैन भन्ने मान्यतालाई पुनर्पुष्टि गर्नैपर्छ । 
हामी विश्वस्त छौँ–  नवयुवाहरुको सरोकार, अपेक्षा र मनशाय असल थियो । जेन्जी विद्रोहका नाममा जुन हिंसा र विध्वंश भयो, त्यसमा नवयुवाहरुको संलग्नता थिएन । तर अरु नै तत्वहरुले त्यसको लाभ लिए । तिनै ‘लाभग्राहीहरु’ का अनुचित भूमिकाका कारण आज ती नवयुवाहरुमा निराशा व्याप्त छ ।
‘नवयुवाका केही समूहहरुको शान्तिपूर्ण प्रदर्शनलाई अपहरण गरेर सुनियोजित रुपले लोकतन्त्रमाथि आक्रमण गर्ने तत्वहरुले राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, लोकतान्त्रिक पार्टीका कार्यालयहरु, शहीद र अग्रजहरुका स्मारक एवं सार्वजनिक र निजी सम्पत्तिमाथि जुन अनुपातको आगजनी, विध्वंश र आक्रमण गरे, नेपालको इतिहासकै त्यो कालो अध्याय थियो’ वक्तव्यमा भनिएको छ– शान्तिपूर्ण भनेर अनुमति लिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका निम्ति को जिम्मेवार छन् भन्नेबारे गहिरो छानबिन हुनुपर्छ । 
‘आम नेपाली जनता र सिङ्गो राष्ट्र चाहन्छन्– अब कहिल्यै त्यस्तो नहोस्’, वक्तव्यमा उल्लेख छ ।  
भदौ २४ को विध्वंशको दुःखद स्मरण गरिरहँदा हामीले यो सङ्कल्प लिनैपर्छ– लोकतन्त्र, संविधान, राष्ट्रिय हित एवं स्वाभिमानको रक्षा एवं शान्तिका लागि सबै देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्ति तथा व्यक्तिहरु नयाँ उचाइका साथ सक्रिय हुनु अपरिहार्य छ । हामी यस दिशामा सहकार्यका साथ अगाडि  बढ्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ ।

 


 

 

हामीसँग जोडिनुहोस्