केपी शर्मा ओली
अध्यक्ष, नेकपा (एमाले)
आज हामी नेपालीहरूले निर्वाचित संविधान सभाबाट अर्थात जनताले छानेका प्रतिनिधिहरूबाट जनता आफैँले संविधान जारी गरेको १२ औँ संविधान दिवस अर्थात ११ वर्ष पूरा भएको छ र १२ वर्ष प्रारम्भ भएको छ, १२ औँ संविधान दिवस सभा।
यस अवसरमा म देशभित्र र देश बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूलाई संविधान दिवसको सन्दर्भमा हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु। बधाई यस कारणले कि यस संविधानमा नेपाली जनताले सदीयौँदेखि न्याय प्राप्तिका लागि गरेका आकांक्षाहरू र ती आकांक्षाहरूलाई पूरा गर्ने प्रयास स्वरूप गरेका सम्पूर्ण बलिदान हुन्।
अहिलेभन्दा ९० वर्ष अगाडिदेखि थालेका सुसङ्गठित प्रयासहरू, ती प्रयासहरूको दौरानमा गर्नुपरेको योगदान र बलिदान, बगाउनुपरेको आँसु, बेहोर्नुपरेको क्षति, यी सबै कुराहरूको प्रतिफल हो संविधान, एकमुष्ठ प्रतिफल। त्यसकारण बधाई कि यो सानो उपलब्धि होइन। नेपालको संविधान आफैँमा एउटा ठूलो उपलब्धि हो, जो नेपाली जनताले आफैँले निर्वाचित गरेको संविधान सभाबाट अर्थात आफैँले जारी गरेको संविधान हामीले प्राप्त गरेका छौँ।
हामी आफैँले यो संविधान जारी गर्यौँ। यो संविधान जारी गर्ने सन्दर्भमा हामीलाई सजिलो थिएन। संविधान जारी गर्ने भनेको एउटा दस्तावेज लेख्ने कुरा मात्रै थिएन। यो दस्तावेजको रूपमा प्रकट हुन्थ्यो, भएको छ तर यो दस्तावेज वास्तवमा दस्तावेजको रूपमा आउनभन्दा अगाडि धेरै चिजहरू यसमा समेटिनु पर्दथ्यो। धेरै चिजको यसले प्रतिनिधित्व गर्नुपर्दथ्यो। यसले सङ्घर्ष र बलिदानको इतिहास बोक्नुपर्दथ्यो। त्यसबेलाका परिस्थितिका जटिलताहरूको समाधान दिनुपर्दथ्यो र यसले भविष्यको मार्गनिर्देश गर्नुपर्दथ्यो। कता जाने भन्ने कुरा मार्गनिर्देश गर्नुपर्दथ्यो। कसरी जाने भन्ने कुराको बाटो तय गर्नुपर्दथ्यो। कस्तो व्यवस्था मार्फत अगाडि बढ्ने, कस्तो प्रणाली, कस्तो प्रक्रिया, कस्ता संरचना र यसलाई कार्यान्वयन गर्ने अरू विविध क्षेत्रका कस्ता कानुनहरू निर्माण गरेर अगाडि बढ्ने भन्ने कुराहरू समेत यसले आफूभित्र समावेश गर्नुपर्दथ्यो। यसले जनतालाई अधिकारसम्पन्न कसरी बनाउने, जनतालाई राष्ट्र निर्माणमा एकतावद्ध कसरी बनाउने, ती कुराहरू समेट्नु पर्दथ्यो।
देशमा संविधान बन्नै नदिने प्रयासहरू थिए। पहिलो पल्ट जनताबाट बन्दै थियो। नेपालको हकमा नयाँ कुरा हुँदै थियो। पहिलो संविधान सभालाई असफल बनाइसकिएको थियो। दोस्रो संविधान सभाको निर्वाचनलाई कठिन बनाइएको थियो र त्यस्ता व्यवधानहरूलाई पराजित गरेर संविधान अगाडि आउनुपर्ने थियो। देशमा साम्प्रदायिक विद्वेष लगायतका कुराहरू भड्काइएका थिए। नेपाल भूगोल एउटै थियो। नेपालको भूगोलभित्र सरहदभित्र हामी नेपालीहरू बसेका थियौँ। तर हाम्रोमा जातीय, भाषिक, धार्मिक, भौगोलिक अनेक प्रकारका विविधताहरू थिए। पेसागत विविधता थिए। ती विविधताहरूलाई प्रयोग गरेर, दुरुपयोग गरेर नेपाली जनतामा फाटो ल्याउने र नेपाललाई अगाडि बढ्न नदिने प्रयासहरू भइरहेका थिए। यो संविधान निर्माणको क्रममा दस्तावेज पल्टाएर मात्रै हुँदैनथ्यो। कम्प्युटर र ल्यापटप चलाएर मात्रै हुँदैनथ्यो। कपि कलम चलाएर मात्रै हुँदैनथ्यो। सान्दर्भिक दस्तावेजहरूको अध्ययन गरेर मात्रै हुँदैनथ्यो। भूराजनीति, अन्तर्राष्ट्रिय परिस्थिति, हाम्रो देशको आन्दोलनका जटिलताहरू, यहाँभित्रका स्टेकहोल्डर्स, राजनीतिक खेलाडीहरू, अनेक पक्षहरू अध्ययन गर्नु पर्दथ्यो, त्यो भित्र पस्नु पर्दथ्यो र त्यसलाई समाधानको बिन्दुमा पुर्याउनु पर्दथ्यो।
पहिलो संविधानसभा यसैकारण असफल भएको थियो, यिनै चिजहरू गर्न नसक्दा। दोस्रो संविधानसभा यिनै जटिलताहरूलाई सम्बोधन गर्न सफल भएको हुनाले दोस्रो संविधानसभा सफल भयो। हामीले सफल बनाएरै छोड्यौँ। अन्तिममा जारी गर्ने बेलामा पनि जारी गर्न नदिने, सबै तयार भइसकेपछि, संविधानको मस्यौदामा हस्ताक्षर भइसकेपछि, संविधानको दस्तावेज तयार भइसकेपछि, त्यसलाई घोषणा हुन नदिने समेत अनेक प्रपञ्चहरू भए। ती प्रपञ्चहरूलाई पराजित गरेर हामीले संविधान ल्यायौँ। यो वास्तवमै साधारण कुरा होइन।
यसमा त्यतिबेला त्यस अभियानमा सरिक भएका सम्पूर्ण पक्षहरू, शक्तिहरू, व्यक्तिहरू सबैलाई म धन्यवाद भन्न चाहन्छु। यहाँसम्म ल्याइपुर्याउन योगदान गर्ने सहिदहरूलाई हामीले अघि नै सम्मान गर्यौँ, श्रद्धाञ्जली गर्यौँ। म फेरि त्यो योगदान, त्यो बलिदानलाई सम्मान गर्न चाहन्छु। हाम्रा अग्रजहरूको भूमिका असाधारण रहेको छ। अहिले अग्रजहरूलाई खेद्ने प्रचलन खुब चलेको छ। तर म हामीभन्दा अगाडिका अग्रजहरू जसले भूमिका खेल्नुभएको छ, उहाँहरूप्रति अत्यन्तै आदरका साथ सम्मान व्यक्त गर्न चाहन्छु।
अहिले हामी १२ औँ संविधान दिवस मनाइरहेका छौँ। यस बीचका समयहरू सहज रहेनन्। अप्ठ्याराहरू रहे, उतारचढावहरू रहे। यस बीचमा वास्तवमा लोकतन्त्रलाई लोकतान्त्रिक प्रणालीको हिसाबले, लोकतन्त्रलाई लोकतन्त्रको हिसाबले सञ्चालन गर्न, रक्षा गर्न र अगाडि बढाउन साना चुनौतीहरूको सामना गर्नुपरेन। ठूला चुनौतीहरूको हामीले सामना गर्यौँ, निरन्तरका चुनौतीहरूको सामना गर्यौँ, निरन्तरका आक्रमणहरूको सामना गर्यौँ र संविधानको रक्षा र कार्यान्वयन गर्दै आयौँ।
अघि नै मैले एकपल्ट ९० वर्षको इतिहासको, सङ्गठित प्रयासको इतिहासको, सङ्गठित प्रयास अन्तर्गतका बलिदान, सङ्घर्षहरूको चर्चा गरेँ। अहिलेदेखिको मात्रै कुरा होइन, पहिलो र दोस्रो संविधान सभाका मात्रै कुरा होइन, संविधान जारी गर्न सफल हुने दोस्रो संविधान सभाको मात्रै कुरा होइन, उहिलेदेखि नै जनताबाट संविधान जारी गर्ने ती आकांक्षा । नेपाली समाजलाई न्यायोचित, समतामूलक, समृद्ध, विकसित, आधुनिक, सुविधा सम्पन्न समाजको रूपमा प्राप्त गर्न चाहने र त्यसको लाभांश न्यायोचित, समतामूलक ढङ्गले प्राप्त गर्ने नेपाली जनताको चाहना सजिलोसँग यस पक्षमा अगाडि बढेको होइन। केही पनि भएन भन्ने होइन। राणा शासनमा पनि उस्तै थियो, त्यसपछि पनि उस्तै थियो, पञ्चायत काल पनि उस्तै थियो, ३५-३६ वर्ष बहुदल आएपछि समाप्तै भो, ध्वस्तै भो भन्नेहरू त झन् एकछिन व्यायामका लागि हात टेकेर टाउको तल पार्नु र खुट्टा माथि पार्नु व्यायामका लागि त होला, शीर्षासन गर्दा होला, तर व्यक्तिगत जीवन वा सामाजिक जीवनमा सधैँ शीर्षासन चल्दैन। त्यस्ताहरूको तर्क भनेको यो शीर्षासन गरेको कुरा हो, उल्टो कुरा हो यो। देशमा विकास भएको छ। जनताको जीवनस्तरमा परिवर्तन भएको छ। हामी हरेकले आफैँलाई सोध्यो भने हुन्छ, ३० वर्ष अगाडिको जीवनस्तर कस्तो थियो? नेपाल कहाँ थियो ? पूर्वाधार विकासको हिसाबले कहाँ थियो? सुशासनको हिसाबले कहाँ थियो ? विकासको हिसाबले कहाँ थियो नेपाल ?
अनि अर्को कुरा, अहिलेको संविधान बनेपछि कति ४७ को संविधान सम्झिएर बसिराख्या छन्। कतिपय मुलुकलाई पछाडि फर्काउन सकिन्छ कि भनेर प्रयास गरिरहेका छन्। कतिपय पछाडि होइन, ब्ल्याकहोल तिरै, अन्धकार युगतिर, अराजकतातर्फ फर्काउने प्रयासमा जुटिरहेका छन्। थिति होइन, विधि होइन, पद्धति होइन, प्रक्रिया होइन, बलजफ्ती यस्ता तरिकाहरू अवलम्बन भइराखेका छन्। यति व्यापक भएको छ यो तरिका, विधिहीनता, पद्धतिहीनता, नीतिहीनता, अराजकता। अराजक तरिकाले मुलुकलाई हाँक्ने, अराजक तरिकाले सबै संघसंस्थाहरूलाई हाँक्ने, मुलुकमा अराजकता व्याप्त गर्ने। अराजकताले के ल्याउँछ? हिंसा। अराजकताले के ल्याउँछ? अकर्मण्यता। अराजकताले गैरजिम्मेवारपन ल्याउँछ। अराजकताले दिशाहीनता ल्याउँछ, कुनै बाटो ल्याउँदैन। त्यही एउटा प्रणालीअन्तर्गत, पद्धतिअन्तर्गत चलाउने संविधान, संविधान भनेको देशको मूल कानुन, त्यसअनुसार चल्ने चलाउने, लोकतान्त्रिक विधि प्रक्रिया प्रणालीबाट चल्ने, ती कुराहरूलाई तोड्नका लागि नै गत वर्ष भदौ २३-२४ गतेको षड्यन्त्रपूर्ण उपद्रवको आयोजना गरियो नेपालमा। अहिले को-को संलग्न थिए, के के संलग्न थिए खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्। अहिले मैले धेरै केही भनिरहनु पर्दैन। केही नेपाललाई कुबाटोतिर धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्। विभिन्न प्रकारका, देखिएरै गरेका छन्, आश्चर्य लाग्दोगरी गरेका छन्। हामीले देखेका छौँ - मौन अवधिभित्र बीबीसीले नेपाललाई झूट कुरा सम्प्रेषण गरेर, अल्मल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोसिस गर्यो। यो भन्न अप्ठ्यारो मान्नु पर्दैन। मौन अवधि हामीलाई लाग्थ्यो, बीबीसीलाई लाग्दैनथ्यो। अर्थात्, आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडियासमेत नेपालमा असत्य छरेर, जनतालाई दिग्भ्रमित पारेर बेठीक बाटोतिर लान उद्दत भएको त हामीले देख्यौँ। यस्ता अनेक कुराहरू छन्। अहिले विभिन्न प्रकारका अन्तर्राष्ट्रिय खोज-अध्ययन-अनुसन्धानवाला विभिन्न रिपोर्टहरूले पनि देखाएका छन्। सामाजिक सञ्जालहरूले देखाएका छन्, सञ्चार माध्यमहरूले देखाएका छन्। त्यसकारण यसमा मैले धेरै केही भन्नुपर्ला जस्तो लाग्दैन।
गत वर्ष एउटा आम कत्लेआम नरहत्याको योजना रचना गरियो। योजना रचना गरेकै हो । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढङ्गले नव युवाहरुको र अरू युवाहरूको हत्याको काण्ड घटाउने काम भो, योजनाबद्ध ढङ्गले, षड्यन्त्रपूर्ण ढङ्गले। त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिँजाउनु थियो, त्यो फिँजाइयो २४ गते।
अनि काक्रा उनीहरुले चोरेर खाए, बिँया हाम्रो गालामा ल्याएर टाँसे । त्यही हामीले भनेका हौँ, हाम्रो गालामा बिँया टाँस्न ल्याउनु पर्दैन। यो षड्यन्त्र हामीले पनि बुझेका छौँ, नेपाली जनताले बुझेको छ, अझ हामी बुझाउँदै लानेछौँ। केहीले बुझेको नबुझै गर्ने, बुझ पचाउने, केही तत्वहरू त भन्छन् यो बाहिरको केही हात होइन, यो भूराजनीतिको कुनै अर्थ छैन यहाँ, हामीले बिगारेको हो, हाम्रो नेतृत्वले बिगारेको हो आदि इत्यादि यस्ता खालका कुरा गर्ने छन् । उतैबाट छापिन्छन् खोज अध्ययन गरेर, बाह्य संलग्नता उतैबाट छाप्छन्, उतैबाट भण्डाफोर गर्छन्, यहाँका अरू त्यसको डिफेन्ड गर्न जान्छन्। हैन हैन त्यो हाम्रै भित्रको कुरा हो। गोली किन चलाएको त हाम्रै भित्रको हो भनेरु हामीले त चलाएनौं । नचलाउनु भन्या थियो। प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ, दमन भयो किनरु दमन हुनुभन्दा अगाडि तोडफोड हुनभन्दा अगाडि, आगजनी हुनभन्दा अगाडि सिंहदरबार जलाउने यो ८२ भदौ २४ गते चलेको, उसै दिनको आक्रोश, आवेग, उत्तेजना मात्रै होइन, अगाडिदेखि चलेका थिए । हाम्रा घरहरू जलाइएका तस्बिरहरू अगाडिदेखि देखाइएको थियो, सिंहदरबार जलाएको तस्बिर अगाडिदेखि देखाइएको थियो, संसद भवन जलाइएका तस्वीरहरु अगाडिदेखि देखाइएका थिए।
तसर्थ, यो वास्तवमा नेपाललाई अराजकताको भूमरीमा राखेर आफ्ना प्यादाहरूको कथित सरकार निर्माण गरेर आफ्ना स्वार्थहरू पूरा गर्ने षडयन्त्रस्वरुप यी कुराहरू भएका हुन्। देशमा संविधान छ, जनताले बनाएको संविधान छ, जनताले निर्वाचनद्वारा बनाएको सरकार छ भने असंवैधानिक ढङ्गले, गलत ढंगले त्यस संविधानलाई ध्वस्त पार्ने काम भो। सडकबाट केही हजार मान्छेले तीन करोड नेपालीले वैधानिक ढंगले दिएको फैसलालाई केही हजार मान्छे अगाडि सारेर मिलेमतो र साँठगाँठका साथ ध्वस्त पार्ने काम भो। आज त्यसैको सिलसिलामा असंवैधानिक सरकार, असंवैधानिक प्रतिनिधिसभा विघटन, त्यसलाई वैधानिकता दिने, २४ गतेको राष्ट्रिय दोहन, राष्ट्रिय क्षति त्यसका अपराधीहरुलाई छुट दिने त्यो कर्म अत्यन्त जायज र सामान्य हो भन्ने स्थापित गर्ने, यसका निम्ति कोही आयोग बनाइए, कोही भएका आयोगहरू त्यसमा जिब्रो चपाएर बसे, अथवा लहै-लहैमा फैसला सुनाए, अथवा प्राप्त भएका नतिजाहरू प्रकाशित गर्न डराए। जे जे भो राम्रो भइराखेको छैन। संविधान सम्मत छैन, लोकतान्त्रिक विधिबाट नेपाल अगाडि बढाउन दिइराखिएको छैन। त्यसकारण आज संविधान त १२ वर्ष अगाडि हामीले जारी गर्यौँ, त्यसको कार्यान्वयन सही ढङ्गले गर्न खोज्दै थियौँ। नेपाली समाजमा सुशासन र विकासको हिसाबले नेपाली समाज अगाडि बढिरहेको थियो। देशको अर्थतन्त्रको आकार कति गुणामाथि गइसकेको थियो र हाम्रो सरकार हुँदा असाधारण विकास भएको थियो। विश्व बैंकले भनेको थियो साउथ एसियाको राइजिङ स्टार हो नेपाल। संयुक्त राष्ट्र संघको विश्लेषणले भनेको थियो, १० वटा विश्वका तीव्रतर ढङ्गले विकास गरिरहेका देशहरूमा नेपाल पर्छ। हामीले भन्ने गरेका थियौँ, नेपालको विकास कहाँनेरी भयो भन्ने हो भने खोज्न जानु पर्दैन आफू उभिएका ठाउँबाट वरिपरि हेर, त्यहीँ विकास देख्छौ। हामीले त्यो भनेका थियौँ र त्यो विकास देखिन्छ।
तर बुझ पचाएर, त्यसलाई ढाकछोप गरेर, स्यालहुइँया मच्चाएर, हामी त्यसको प्रभावमा पनि परेर देशलाई जोखिम हुनुतिर जान छुट दिन मिल्दैन। दिइरहेका छौँ अहिलेसम्म नेपाली जनताले, त्यसलाई रोक्नुपर्दछ।
म नेपाली युवाहरूलाई भन्छु, नेपाली युवाहरूको अत्यन्त गौरवपूर्ण इतिहास छ। नेपाली युवाहरूले नै हो मुख्य रूपमा, लड्ने कसले ? बालबच्चा त लड्दैनन्। हातपाउ बसेका बुढाबुढी लड्दैनन्। देश बनाउने लडाइँको नेतृत्व कसले गर्यो त्यो आफ्नो ठाउँमा छ। तर नेपाली जनता लडे, नेपाली युवाहरू लडे, मुख्य रूपमा त नेपाली युवाहरू नै अग्रसर भए, लडे नि। नेपाल बचाउने कुरामा एकीकरणको मात्रै प्रश्न होइन, यदि त्यो भन्दापछि त्यसको विस्तार गर्ने कुरा, त्यसपछि ब्रिटिश इन्डियाको आक्रमणमा नेपाल बचाउने कुरा, नेपाली जनताले त्यही बहादुरीका साथ नलडेका भए नेपाल जोगिने थिएन। राणा शासन, युवाहरूको सहभागिता, संलग्नता र युवाहरूले नै वास्तवमा काँध नथाप्ने हो भने, त्यस आन्दोलनको संवाहक नहुने हो भने हुन सक्ने थिएन। तर कसरी राणा शासन हट्यो, कसरी पञ्चायत हट्यो ? ३२ सालको विद्यार्थी आन्दोलन कसरी भो ? ३५-३६ को विद्यार्थी आन्दोलन कसरी भो ? ४६ सालको राष्ट्रिय आन्दोलन कसरी भो ? ६२-६३ को १९ दिनसम्म कसरी आन्दोलन भयो? कसरी राजतन्त्रले घुँडा टेक्यो ? यो सबै नेपाली युवाहरूको महान असाधारण योगदान छ। तर अहिले युवाहरू अलिक वर्गलिएको देख्छु, युवाहरु अल्मलिने होइन, भ्रममा पर्ने होइन, वर्गलिने होइन। सबभन्दा बढी भविष्य बाँच्नु युवाहरुलाई छ अहिले । आपूmभन्दा पछिको पुस्ताको अभिभारा, भोलि गएर युवाहरुको काँधमै हो । युवाहरुले नै हेर्नुपर्छ भोलिको भविष्य । त्यसो भएर यो देश बचाउने कसले ? बितेको पुस्ताले, हाम्रो पुर्खाले ? पुर्खाको हामी सम्मान गर्दछौँ। अहिले क्रियाशील सबै पुस्ता आन्दोलनमा सरिक हुनुपर्दछ र अझ सुन्दर भविष्यका लागि क्रियाशील हुनुपर्दछ। जसले जे गर्न सकिन्छ, त्यो काम गर्नुपर्दछ। लडाइँमा जानेहरूलाई खाना खुवाउने पनि चाहिन्छ । लडाइँमा जाने घाइतेहरूलाई मलमपट्टी गर्ने मेडिकल टिम पनि चाहिन्छ। लडाइँ लड्नेको मात्रै योगदान हुँदैन। फिल्डमा हुनेको मात्रै योगदान हुँदैन। सबै मान्छे फिल्डमा मात्रै पनि हुँदैन। विभिन्न भूमिकामा मान्छेहरूले साथ दिनुपर्छ। खेलको मैदानमा हुटिङ गरेर पनि साथ दिएका हुन्छन्, टिमलाई जिताउनका लागि।
आन्दोलन पनि त्यस्तै कुरा हो, आज हामीले लामो समय सङ्घर्ष गरेर, बलिदान दिएर ल्याएको संविधानको रक्षा गर्नुपर्दछ, लोकतन्त्र परिमार्जित र परिस्कृत हुँदै जाने प्रणाली हो। कुनै रेडिमेट सुत्र, रेडिमेड यहाँनेरी पुगेपछि लोकतन्त्र भयो, पुग्यो भन्ने कुरा हुँदैन। परिमार्जन गर्दै लाने कुरा हो। कुनै संविधान देश चलाउने, व्यवस्था चलाउने संविधान, सारा भविष्यतर्फ नयाँ विश्व, नयाँ प्रविधि, नयाँ पुस्ता, सबैलाई सम्बोधन गर्दै जाने र हाक्दै जाने यो परिवर्तनशील कुरा हो। अब यो पूरा भयो, यो चाहिँ अन्तिम हो, यसभन्दा उता हुँदैन भन्ने, समाज विकासको, परिवर्तनको सन्दर्भ अब पुग्यो भन्ने हुँदैन। हामीले नेपालको संविधान जनताले प्राप्त गर्ने अधिकारको सन्दर्भमा, मौलिक हकको सन्दर्भमा उत्कृष्ट संविधान भनेका छौँ। फेरि संविधानमा अरू ठाउँमा उत्कृष्टता छैन भन्ने होइन, छ, कतै कमजोरी पनि छ। अनुभवको दौरान हामीले कमीकमजोरीहरू हटाउँदै जानुपर्छ। संविधान संशोधन गर्दै जानुपर्छ। संविधान संशोधन गर्छौँ भनेपछि, संविधान संशोधन गर्छौँ भन्या थे, खोइ त भनेर जतिबेला पनि संविधान संशोधन, जस्तो परिस्थितिमा पनि संविधान संशोधन, यो श्राद्धमा बिरालो खोजेर भए पनि बाँध्नुपर्ने कुरा होइन- संविधान संशोधन भनेको। यो रीत पुर्याउने कुरा होइन। देश अगाडि बढाउनका लागि, देशको समग्र पक्ष अगाडि बढाउनका लागि अनुभवले दिएका कुरा र अझ भाँडिन्छ कि समालिन्छ भन्ने कुरा हेरेर संविधानलाई उपयुक्त बनाउनका लागि हामीले संविधान संशोधन गर्ने हो।
अहिले पनि हामी संविधान संशोधनको पक्षमा छौँ, तर संविधान संशोधनका पक्षमा संविधान बिगार्नका लागि होइन, पश्चगमनको लागि होइन, प्रतिगमनका लागि होइन, अग्रगमनका लागि संविधान संशोधन हुन सक्दछ, संविधान संशोधन गर्नुपर्दछ। त्यसका लागि वातावरणीय अनुकूलता, जतिबेला सबभन्दा प्रतिकुल अवस्था छ त्यतिबेला संविधान संशोधन? अहिले प्रतिनिधिसभा एक खालको छ, राष्ट्रियसभा अर्को खालको छ। राष्ट्रियसभा अहिलेको संविधानको पक्षमा छ, संक्षिप्तमा भन्ने हो भने। सकारात्मक संशोधनको पक्षमा छ राष्ट्रियसभा। प्रतिनिधिसभा हामी पनि छौँ तर हामी निर्णायक तवरमा छैनौँ। संविधान बनाउनेहरू, त्यसको रक्षाको पक्षमा उभिनेहरू, बोल्नेहरू निर्णायक स्थलमा छैनन्। संविधानसभा जथाभावी अध्यादेशबाट, जथाभावी बहुमतको दुरुपयोग गरेर, कार्यकारी अधिकार भन्दै जथाभावी संविधानभन्दा विपरितका कामहरू समेत गर्ने गरी, संविधान घाँडो भएको त कार्यकारी अधिकारबाट देखिन्छ। कार्यकारी अधिकार किन ल्याए ? दुःखका साथ भन्नुपर्छ, अहिले सत्तापक्षले जे ल्याए पनि ढ्यापढ्याप गर्ने, के आयो थाहै नपाउने अवस्था छ। यस्तो अवस्थामा हामीले संविधान संशोधनका निम्ति, संविधानको रक्षाका निम्ति जनताको सकारात्मक शक्तिलाई सबल बनाउने, सचेत शक्तिको निर्माण गर्ने र संविधान संशोधन कसरी, कस्तो संविधान, केका लागि भन्ने बुझ्ने शक्तिको निर्णायकस्तरमा हुनुपर्ने, संविधान संशोधनका ती यथार्थका पूर्वसर्तहरू नै हुन्। जसो पनि संशोधन भन्या होइन हामीले, सकारात्मक संविधान संशोधन भनेको हो। त्यसकारण यतिबेला हामी सम्पूर्ण नेपाली जनताहरू सचेततापूर्वक देशलाई पछाडि धकेलिएको छ, पछाडि अझ धकेल्न कोसिस गरिँदै छ, त्यस पछाडि धकेल्ने कोसिसबाट रोकेर अगाडि फर्काउन जरुरी छ र नेकपा एमाले यस कामको अगुवाइ गर्छ। यसका निम्ति हामीले भनेका छौँ-उपलब्धिहरूको रक्षा गर्न र देशलाई अगाडि बढाउन नेकपा एमाले सानातिना कुराहरूमा अल्झिँदैन, स-साना वैयक्तिक स्वार्थहरूमा कोही अल्झिन्छ भने वैयक्तिक कुरा हो उसको। नेकपा एमाले व्यक्तिगत कुरामा कतै अल्झिँदैन, यो राष्ट्रिय हितमा केन्द्रित भएर अगाडि बढ्छ।
तसर्थ, हामीले यतिबेला सिङ्गो पार्टीलाई अझ सुदृढ एकतामा लगेर, पार्टीलाई शुद्धीकरणमा लगेर देशको पक्षमा, जनताको बृहत्तर हितको पक्षमा, संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा केन्द्रित गरेर उभ्याउनुपर्छ। द्याट्स द नेसन फर्स्ट भन्ने स्लोगनको अर्थ। नेसन फर्स्ट यो भावनाका साथ हामीहरू अगाडि बढ्नुपर्दछ। यसका लागि यो काम कसले गर्छ? संविधान जारी गर्ने कुरामा हाम्रो पार्टीको स्पष्ट अगुवाइ रह्यो। संविधान कार्यान्वयनका लागि संविधान अनुसारका कानुन बनाउनदेखि कार्यान्वयनका अन्य संरचनागत पक्षहरूको विकास गर्नेदेखि लिएर सबै कुरामा नेकपा एमालेको अग्रणी भूमिका रहेको छ।नेकपा एमालेलाई सजिलो छैन। ५१ सालको सरकार असाध्यै राम्ररी चल्यो, लोकप्रिय भयो। एमालेले दुई तिहाइ ल्याउने अवस्था बन्यो। दुई तिहाइ ल्याउँदैन भने पनि बहुमत मज्जाले ल्याउने अवस्था बन्यो, पार्टी फुट्यो। एकथरी मान्छेहरूलाई खपिसक्नु भएन, उफ्रिएर, कराएर, पार्टी फुटाएर एमालेलाई बहुमत ल्याउनबाट रोके। फुटाउनु पर्ने कारणैथिएन। महाकाली नदी बेच्यो, महाकाली नदी नेपाल र भारतको सिमानाबाट बग्न छोडेर दिल्लीमा पुर्यायो, के के बोले बोले। बेच्यो अरे। महाकाली सम्झौता हामीले नेपाल भारत दुइटैको हितमा गरेका थियौँ र नेपालको हित अलिकति पनि मर्न दिएका थिएनौँ, नेपालको हित मासिएको ठाउँमा नेपालको हित स्थापित गरेर महाकाली सन्धि गरेका थियौँ। पार्टी फुटाए।झण्डै दुई तिहाइको एकता-एकीकरण र पार्टी विस्तारबाट, झण्डै दुई तिहाइको सरकार हामीले बनायौँ। असाधारण पूर्वाधारको विकास, सुशासन र विकासको लहर, जनतामा उत्साह, हाम्रा अन्तर्राष्ट्रिय मित्रहरू पनि खुसी, सबैमा एउटा उत्साह, त्यो वातावरण बन्यो। विश्व बैंक जस्ता संस्थाले प्रशंसा कसरी गरेका मैले अघिनै भनिसकेँ, संयुक्त राष्ट्र संघले कसरी प्रशंसा गरेको हामीले भनिसक्यौँ। हामीले राष्ट्रियतालाई साँच्चै स्वतन्त्र, सार्वभौम राष्ट्रको हैसियतमा व्यवहार गर्ने स्वतन्त्र राष्ट्रको हैसियतमा देशलाई उभ्यायौँ। त्यसको प्रतिफल स्पष्ट देखियो।
हामीले छिमेक सम्बन्धलाई सन्तुलित बनायौँ। अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनायौँ, व्यापक बनायौँ। हामी अन्तर्राष्ट्रिय मञ्चहरूमा देखिने, सुनिने हुनुपर्छ नेपाल भनेर मैले भनेको थिएँ। त्यस्तैअनुसार हामीले बनायौँ। अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल देखिने भयो, नेपाल सुनिने भयो, त्यो स्थितिमा पुर्यायौँ। अनि पार्टी फुट्यो। केही तत्वहरूलाई, तिनै हुन् जो बाँकी रहेका, फुट्न बाँकी रहेका, फुटेर फेरि फर्किएका, तिनै तत्वहरू फेरि चम्किएर, केही सप्रिए बाँकी, फेरि उही तरिका अवलम्बन गरेर पार्टीमा भाँडभैलो मच्चाएर पार्टीमा फुटल्याई छोडे। तर हामीसँग लड्नका लागि नेपालका सबै शक्ति एकतिर हुनुपर्यो, फेरि पनि नेकपा एमाले देशको सबभन्दा लोकप्रिय पार्टी भयो। अनि फेरि यसलाई सही नसक्नु। ७९ को निर्वाचन, मजबुत शक्तिको रूपमा, पार्टी फुटाएर, फुटेर पनि पाँच-छ वटा पार्टी नेपाल सिंगै हाम्रा विरुद्ध खनिँदा, घेरिदा पनि नेकपा एमाले मजबुत शक्तिको रूपमा फेरि पनि उदायो। फेरि आत्तिए।
अहिले पनि नेकपा एमालेका विरुद्ध हमला भइराख्या छ, म कमरेडहरूलाई भन्न चाहन्छु । नेकपा एमालेको पर्सिबाट केन्द्रीय कमिटीको बैठक सुरु हुँदै छ, ५-६-७, अत्यन्तै सुदृढ एकताका साथ अगाडि बढ्नेछ। केन्द्रीय कमिटीले सबै प्रकारका समस्याहरू कुनै देखिएका छन् भने तिनको पनि उपयुक्त समाधान दिनेछ। पार्टीलाई सुदृढ एकताको सुत्रमा बाँध्नेछ र अझ सक्रिय, अझ उच्च मनोबलका साथ पार्टी अगाडि जानेछ र प्रतिक्रियावादीसँग लड्ने सामथ्र्य मात्र हासिल गर्ने छैन, लडेर जित्ने सामथ्र्य पनि हासिल गर्नेछ । फेरि नेकपा एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा फेरि स्थापित हुनेछ।
नेकपा एमाले यही तालले सिध्याउँछु भन्या होला, कुनै तालले नेकपा एमाले सिद्धिनेवाला छैन। यो नेपाली जनताको साँचो प्रतिनिधि पार्टी हो, साँचो प्रतिनिधि शक्ति हो। अन्धविश्वासमा हिंडेको छैन। वैचारिक ढङ्गले, व्यावहारिक ढङ्गले, राजनीतिक नीतिका साथ, आर्थिक नीतिका साथ, वैदेशिक नीतिका साथ, सामाजिक सांस्कृतिक नीतिका साथ, वातावरणीय प्रश्नलगायत मानवअधिकारका प्रश्नहरूमा अत्यन्त सचेतताका साथ नेकपा एमाले अगाडि बढेको छ।
एमालेभित्र पनि कमीकमजोरी हुन सक्दछ। कमीकमजोरी हुँदै हुँदैन भन्न सकिँदैन, हुन सक्लान्। तर नेकपा एमाले भित्र रियलाइजेसन र रेजिलेन्स एउटा गल्ती, कमी छन् भने तिनलाई महसुस गर्ने सामर्थ्य छ र फेरि पुरानै ठाउँमा फर्किने र त्योभन्दा अगाडि बढ्ने सामर्थ्य नेकपा एमालेसँग छ। दुनियाँका कुनै पनि शक्ति भन्दा यो सानो देशको सानै शक्ति होला, तर यसको रियलाइजेसन शक्ति जसले यसलाई बिग्रिन दिँदैन, रियलाइजेसन पावर हो यस्तो जसले बिग्रिनबाट जोगाउँछ। रेजिलेन्स क्यापासिटी यस्तो कुरा हो- जसले फेरि पहिलेकै ठाउँमा लड्या छ भने उठेर, पछारिएको छ भने उठेर, घाइते छ भने फेरि मलमपट्टी गरेर चुस्तदुरुस्त भएर फेरि अगाडि बढ्ने, जस्ताको तस्तै हुने र अगाडि बढ्ने, त्यो रेजिलेन्स, त्यो डेभलपमेन्ट र त्यो इनोभेटिभ क्यापासिटी नेकपा एमालेसँग छ।
नेकपा एमालेले राष्ट्रिय नीतिहरूको तय गरेको छ। फेरि पनि नेपालका लागि राष्ट्रिय नीति अरूले दिने होइन, नेकपा एमालेले दिन्छ। सही नीति दिनुपर्छ राष्ट्रिय नीति भनेको, त्यो एमालेले दिन्छ। यसरी म साथीहरूलाई आज संविधान दिवसको सन्दर्भमा आग्रह गर्न चाहन्छु, मनोबल दह्रो बनाउनुस्। प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरे भन्दैमा भाग्ने होइन। हामी प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँ र फेरि पनि पञ्जा लडाउँदा हामीले विजय हासिल गर्नेछौँ। प्रतिगमनले एकछिन् जित्छ, सत्यले सधैँका लागि जित्छ। असत्यले, भ्रमले एकछिन्का लागि जित्छ। भ्रम नै सत्य भनेर स्थापित भइसक्ने भए हामीहरू जस्ता मान्छेले जति आरोप, जति लाञ्छना, जति झुठा कुराहरू फैलाएर बदनाम र अपमान गर्ने गरेको छ, हामी त बरफको सानो डल्लो घाममा राखिदिएको जस्तो, बालुवामा राख्या जस्तो उहिल्यै बिलाएर पग्लिएर सकिन्थ्यो। गल्ती हामी गर्दैनौँ। जानेबुझेसम्म गल्ती गर्दैनौँ, भएका रहेछन् भने अघि नै भनेँ मैले, रियलाइजेसनको क्यापासिटी हामीसँग छ, रेजिलेन्सको क्यापासिटी हामीसँग छ। त्यसो भएको हुनाले हामी विथ रियलाइजेसन, रेजिलेन्सका लागि अगाडि बढ्छौँ र आगामी केन्द्रीय कमिटीले पार्टीलाई अझ एकढिक्का, अझ मजबुत बनाएर अगाडि लानेछ।हिजोसम्म पनि कराउँदै देखिन्थे, केपी ओली रुँदै थियो अरे कता कुनामा बसेर। ‘सूर्य चिन्ह पनि नपाउने भएँ, पार्टीको नाम पनि नपाउने भएँ भनेर कता टोपी फुकालेर आँसु पुछेर रुँदै थियो अरे केपी ओली’ भनेर छापेका छन् । कठैबरी, कोही कोही पत्रकार देखेर त माया पनि लाग्छ। बिचराहरूलाई त्यस्तो कसले बनायो होला, किन बने होलान्, केले यस्तो बनायो होला? यति झूट, यति असत्य, यति बेइमानी, कतैबाट यस्ता समाचार प्राप्त हुने ठाउँ छैन। यो सतप्रतिशतभन्दा बढी केही हुन्छ भने त्यति झूट किन फैलाएर हिँड्नु पर्या छ? त्यो हामी ५-६-७ को केन्द्रीय कमिटीबाट बाहिर निस्किँदा भव्य वक्तव्यका साथ, एकता र संकल्प, पार्टीको एकता र हाम्रा कामहरू यो गर्नेछौँ भन्ने संकल्पका साथ हामी निस्कन्छौँ, त्यतिबेलासम्मका लागि दुई दिनलाई नहुने यस्ता झूट समाचार सम्प्रेषण किन गर्नु पर्यो? अर्को छापिएको देख्छु फेरि, फलानो अध्यक्ष हुने अरे, फलानो महासचिव हुने अरे, भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदै छ अरे, कति खेती गरेको!कुन्ती मोक्तानको एउटा गीत छ, 'म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर'। एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छैन। हामी आफ्नै बाटो हिँड्छौँ, दृढताका साथ हिँड्छौँ।हामीलाई थाहा छ, हाम्रो कर्तव्य के हो, हाम्रो काम के हो, हामीले के गर्नुपर्छ, हाम्रो काँधमा कुन अभिभारा छ। आजदेखि होइन, म आफ्नै जीवनमा ६ दशकभन्दा बढीदेखि, लामो समयदेखि यस काममा लाग्या छु, यो सङ्कल्पमा लाग्या छु।मलाई गर्व लाग्छ, गर्व लाग्छ, यत्रो हमला छ! अच्चाक्ली बाण वर्षा भएपछि भीष्म पितामह पनि शरशैयामाथि ढलेका थिए। अर्जुन, शिखण्डी यिनहरूले नै हानेका थिए भीष्म पितामहलाई स्वाइकास्वाइ पारेर, शिखण्डी अगाडि राखेर। अहिले पनि शिखण्डीहरू त अगाडि राखेकै छन्। तर पनि भीष्म पितामह पनि शरशैयामाथि ढल्या थिए, केपी ओली शरशैयामा ढलेको छैन, खडै छ, फेरि पनि मैदानमा छ!अमरसिंह थापा मेरै उमेरमा तरबार लिएर युद्धका मैदानमा थिए, मैले तरबार होइन कलम लिएर युद्धको मैदानमा छु। अमरसिंह थापा पनि ७४ वर्षमा युद्धको मैदानमा थिए भने मैले पनि... अहिले त मैले भारी लामो तरबार बोक्नुपरेको छैन, छोटो सानो कलम बोक्दा पुग्या छ। बोक्न सक्छु, बोक्या छु।कोसिस गरेका छन्। मैले कोसिसहरू पनि बुझेको छु, तर पार लाग्नेवाला छैन। यस्ता कोसिसहरू धेरै चरणमा, धेरै पल्टका, मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको छु। यहाँ आइपुगेको यत्तिकै होइन।
म हाम्रा तमाम साथीहरूलाई, तमाम एमालेहरूलाई आग्रह गर्न चाहन्छु, जनताका बीचमा जानुस्, जनतालाई सचेत बनाउनुस् र अगाडि बढौँ। नेपाली जनतालाई भन्न चाहन्छु, यो देश हाम्रो हो बिग्रिन नदिऊँ, सच्याऔँ। नेपाली जनताले सच्याउने हो, त्यसको अगुवाइ नेकपा एमालेले गर्छ। अराजकताबाट होइन, सुस्पष्ट बाटोबाट मात्रै गन्तव्यमा पुग्न सकिन्छ, हाम्रो गन्तव्य सही छ।
आज संविधानको रक्षा र प्रणालीको रक्षा, लोकतन्त्रको रक्षा हाम्रा काँधको प्रमुख कार्यभार हो, यस कार्यभारलाई हामीले सफल बनाउनुपर्छ र बनाएर छोड्छौँ। अहिले देशमा भोटेकोशी, त्रिशूलीको बाढीले ठूलो क्षति पुर्याएको छ, यसमा हामी लागि राख्या छौँ त्यसको राहतमा, उद्धारमा। अब पुनर्निर्माण र पुनर्व्यवस्थापनको चरणमा हामी प्रवेश गर्दै छौँ। यस चरणमा पनि हाम्रो पार्टीको योगदान हुनेछ। म हाम्रा विभिन्न सङ्गठनमा आबद्ध रहेर उद्धार कार्य र राहत कार्यमा, सहयोगका कार्यमा जनताको बीचमा गएर हात बढाउने सबै भोलिन्टियर साथीहरूलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु। स्थानीय पार्टी कमिटीहरू, स्थानीय कार्यकर्ताहरूले जुन दुःख भोग्नुपरेको छ, कष्ट भोग्नुपरेको छ, त्यसका बीचमा पनि उहाँ जसरी खट्दै हुनुहुन्छ, त्यसको म प्रशंसा गर्न चाहन्छु। जसले दुःख, क्षति बेहोर्नुपरेको छ त्यसप्रति म समवेदना, दुःख व्यक्त गर्न चाहन्छु।
अब अहिले फेरि आज यो संविधान दिवसको सन्दर्भमा भन्न चाहन्छु, यो हामीले बनाएको, हामी नेपाली जनताले बनाएको संविधान हो। यो राम्रो संविधान हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, यसको सार त्यही हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्र त्यसलाई व्यवस्था गर्ने यो संविधान, त्यसलाई सफल बनाउने, त्यसलाई विकसित गर्ने, त्यस माध्यमबाट देशलाई अगाडि बढाउने यो संविधान सही संविधान हो। त्यसकारण रक्षा गर्नुपर्दछ, सही ढङ्गले कार्यान्वयन गर्नुपर्दछ र अगाडि बढाउनुपर्दछ। त्यस काममा अगाडि बढ्न संविधान र लोकतन्त्रलाई चुस्तदुरुस्त बनाउँ र यस काममा हामी कानुनी र सङ्घर्ष, सङ्घर्षका विभिन्न रूप छन्, तिनीहरूमा सरिक हुनु आवश्यक छ, पार्टीले नेतृत्व गर्नेछ। यत्ति कुरा भनेर यस दिवसको सन्दर्भमा सबैमा फेरि एकपल्ट शुभकामना भन्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु, धन्यवाद।
(नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवस समारोह, २०८३ असोज ३ मा आयोजित कार्यक्रमलाई गर्नुभएको सम्बोधनको पूर्णपाठ)
